(१) करदाताको सम्पत्ति विवरण प्राप्त भएपछि कर अधिकृतले सम्पत्ति विवरण प्राप्त भएको आर्थिक वर्षको लगत्तै पछिको आर्थिक वर्षभित्र कर निर्धारण गरी सक्नु पर्नेछ र सो अवधिभित्र कर निर्धारण गर्न नसकिएमा कर अधिकृतले कारण खुलाई महानिर्देशकलाई सूचना गर्नु पर्नेछ । त्यस्तो सूचना प्राप्त भएपछि महानिर्देशकले सम्पत्ति विवरण पेश भएको मितिले तीन वर्षभित्रै कर निर्धारण गरी सक्नु पर्ने गरी आवश्यकता अनुसार म्याद थप गर्न सक्नेछ ।
(२) करदाताले सम्पत्तिको विवरण दाखिल नगरेमा वा झुठ्ठा विवरण दाखिल गरेको ठहरेमा कर अधिकृतले देहायको कुनै आधारमा सम्पत्तिको मूल्य कायम गरी कर निर्धारण गर्न सक्ने छ:-
(क) कर अधिकृतले त्यस्तो करदाताको सम्पत्तिसम्बन्धी विषयमा प्राप्त गरेको वा संकलन गरेको सबूद प्रमाण,
(ख) करदाताको सम्पत्ति विषयमा कर कार्यालयमा प्राप्त भएको कुनै सबूद प्रमाण सहितको प्रतिवेदन वा आधार ।
स्पष्टीकरण: यस दफाको प्रयोजनको निमित्त “झुठ्ठा विवरण” भन्नाले दफा २० को उपदफा (१) मा तोकिएको कुनै वा सबै अवस्थालाई जनाउँछ ।
(३) उपदफा (२) बमोजिम सम्पत्तिको मूल्य कायम गर्दा कर अधिकृतले त्यसरी मूल्य कायम गर्नु परेको आधार प्रष्ट खुलाई करदातालाई लिखित सूचना दिई आफ्नोसम्पत्ति सम्बन्धमा केही कुरा भन्न वा सबूद प्रमाण पेश गर्न पन्ध्र दिनको म्याद दिनु पर्नेछ ।
(४) कुनै व्यक्तिले यस ऐनबमोजिम दाखिल गर्नु पर्ने सम्पत्तिको विवरण दाखिल गरेपछि सो विवरणको छानबिन गर्दा अनुसूची–२ बमोजिम सम्पत्तिको मूल्यमा समावेश गर्नु नपर्ने सम्पत्ति मात्र भएको ठहर्न आएमा त्यस्तो सम्पत्तिको कर निर्धारण नगरी कर नलाग्ने प्रमाणपत्रसम्म सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइनेछ ।